धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा भएको १२ औं संस्करणको रारा रनिङ गोल्डकपको उपाधि झापाको बिर्तामोड युनाइटेड क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २-१ गोलअन्तरले हराउँदै बिर्तामोडले उपाधि जितेको हो ।
बिर्तामोडको जितमा आशिष चापागाईंले पहिलो हाफको ४१ औं मिनेट र दोस्रो हाफको ३० औं मिनेटमा एकएक गोल गरेका थिए । खेलको अन्तिम समयमा मोरङको एलएक्स सिटीका अनोज गैरेले एक गोल फर्काएका थिए ।
विजेता बनेको बिर्तामोड युनाइटेडले नगद सात लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता एलएक्स सिटी एफसीले नगद तीन लाख रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलएक्स मोरङका देवेन्द्र तामाङ घोषित भए । त्यस्तै उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल घोषित हुँदा प्रतियोगितामा ३ गोल गर्दै झापाका मौसम सुब्बा सर्वाधिक गोलकर्ता घोषित भए ।
त्यस्तै रारा क्लबका गोलकिपर महेश लिम्बू प्लेयर अफ द इयर र प्रदिप मगर उदयमान खेलाडी घोषित भए । उनीहरूलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै झापाका आशिष चापागाईँ नगद सात हजार पाँच सय रुपैयाँसहित ट्रफी हात पारे ।
विजेता तथा उपविजेतासहित उत्कृष्ट खेलाडीहरूलाई पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बू, रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
वैशाख २९ गते देखि संचालन भएको प्रतियोगितामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज सहित आठ टिमको सहभागिता थियो ।