विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका स्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा परेको छ । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
परापूर्वकालमा उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा उक्त स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित जन्तीहरू अलप भएको किंवदन्ती रहेको स्थानीयवासी बताउँछन् ।
सोही आधारमा यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भीर’ रहन गएको धार्मिक कथन छ । अहिले पनि उक्त स्थानमा जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोल झ्याम्टा र राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिन्छ ।
यहाँ रहेका ढुङ्गाका आकृतिले किंवदन्तीमा भनिएका कुरालाई पुष्टि गर्न मद्दत गर्दछ । गोल्मे राजा, गोल्मे रानीको काखमा अर्को धार्मिक गङ्गा खोलाको मुहान छ । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहानमा कहिले पनि पानी नसुक्ने स्थानीय बताउँछन् ।
भिडियो-