विराटनगर । मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जसमा बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मुक्तान समेत छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
५६ करोड ७१ लाख ७ हजार दुई सय ९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी समेत गरिएको छ ।
उनीहरूमाथि सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रूपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ ।