विराटनगर । खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग फोक्सिङ्टार–धाप्लाङघाट सडक निर्माणको काम शुरु भएको छ । कोशीका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार बराहपोखरी गाउँपालिका-३ लामाचौरबाट सडकको ट्रयाक खोल्ने कामको शुभारम्भ गरेका हुन् ।
यो सडक निर्माण सम्पन्न भएपछि खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने मन्त्री राईको विश्वास छ । उनले गत असोजमा आएको बाढीले फोक्सिङ्टारको पुल बगाएपछि खोटाङबासीलाई थप समस्या भएको बताउँदै यो सडक निर्माणपछि समस्या समाधान हुने बताए ।
यो मार्गका लागि धाप्लाङघाटमा द्रुत गतिमा पुल बनाउने काम भइरहेको उनको भनाइ थियो । वैकल्पिक मार्ग पूर्णरुपमा निर्माण गरेर आउँदो वर्षबाट सञ्चालनमा आउने उनले बताए । वैकल्पिक मार्गमा पर्ने खोला, नदीमा आवश्यक पुल निर्माणका लागि बजेट व्यवस्थापन भइरहेको मन्त्री राईले जानकारी दिए ।
बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले अहिले काम बढी र कुरा कम गर्ने बेला आएको बताए । उनले राजनीतिक नेतृत्वले अहिलेसम्म कुरा धेरै गरिसकेकोले अब काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए ।
वैकल्पिक मार्ग निर्माण भएपछि यस क्षेत्रका बासिन्दाले ‘भरिया गाउँका बासिन्दा’ भन्ने उपमाबाट मुक्ति पाउने उनले उल्लेख गरे । फोक्सिङ्टार-धाप्लाङ्सम्मको ९ किलोमिटर सडकको ट्रयाक खोल्न प्रदेश सरकारले गतवर्ष ३५ लाख र चालु आर्थिक वर्षमा ८५ लाख बजेट विनियोजन गरेर काम अघि बढाएको हो ।