सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । धनकुटा नगरपालिका-५ बिच बजारमा निर्मित भवनको आज प्रहरी महानिरीक्षक दीपक थापाले उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले राम्रो बोलीवचन तथा व्यवहारका साथ नागरिकलाई सरल, सहज सेवा र कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।

Advertisement

‘जनता बर्दी बिनाका प्रहरी हुन् । उहाँहरूले दिएका सत्यतथ्य सूचनालाई आधार मानेर अनुगमन र अनुसन्धान गर्दै कार्यान्वयन गर्नुपर्छ’, महानिरीक्षक थापाले भने, ‘हाम्रो बोलीवचन तथा व्यवहार राम्रो हुनुपर्छ । कानुनले दिए अनुसारको काम र नागरिक सहज र सरल सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो ।’

त्यस्तै सेवाग्राहीलाई अनावश्यक दुःख नदिन समेत उनले प्रहरीलाई निर्देशन दिए । उनले जनताले प्रहरीसँग चाहे अनुसारको काम गर्नुपर्ने उल्लेख गरे । पछिल्लो समय आत्महत्या, घरेलु हिंसा लगायतका घटना वृद्धि भएको भन्दै उनले त्यसको न्यूनिकरणका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकको सेवाका लागि विभिन्न कार्यक्रम ल्याउने पनि बताए ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पाख्रेलले सीमित स्रोत-साधनका बावजुत पनि प्रहरीले छिटो सेवा प्रवाह गरिरहेको बताए । उनले कहिलेकाँही बिपद्का समयमा सीमित श्रोत-साधन हुँदा समस्या हुनेगरेको बताए । जिल्ला समन्वय समिति प्रमुख निरन तामाङले शान्ति सुरक्षा भए मात्रै विकास निर्माणमा सहज हुने बताए ।

९ करोड ९९ लाख ८७ हजार लागतमा पाँच रोपनी १४ आना बढी क्षेत्रफलमा भवन निर्माण भएको हो । भवन निर्माणका लागि २०७६ साल पौष ३ गते सम्झौता भएको थियो । सम्झौता भएको मितिमा निर्माणको काम नसकिएपछि तीन पटक म्याद थप भएको थियो भने निर्माण कम्पनीलाई जरिवाना गराइएको थियो ।

नवनिर्मित भवनको ब्यारेकमा १४, कार्यालय प्रमुख निवासमा ६ वटा र अन्य १० वटा कोठा रहेका छन् । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय मातहतका अस्थायी प्रहरी पोष्टका लागि जग्गा प्रदान गर्ने जग्गादाता तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!