
विराटनगर । झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।
घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।