
विराटनगर । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार ३४ वर्षीया पूजा हेमरमको मृत्यु भएको हो ।
पति ३५ वर्षीय कविराज हेमरमले गएराति करिब ११ः२० बजे पत्नी पूजालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूबीच विवाद भएको र सोही क्रममा कविराजले खुकुरी प्रहार गरेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीले कविराजलाई सुरुङ्गाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।