सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । कोसी उच्च बाँध निर्माण योजना खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सप्तकोसी उच्च बाँधविरुद्ध सङ्घर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

सङ्घर्ष समितिका अध्यक्ष असिम राई लगायतको टिमले सहिदभूमि गाउँपालिका र धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाए ।

Advertisement

नेपाल र भारत सरकारबीच सहमति भएको कोसी उच्च बाँध योजनाले समग्र स्थानीयको वसोवास क्षेत्र, समुदाय र सम्पूर्ण अस्तित्वमाथि गम्भीर खतरा उत्पन्न हुने भन्दै सङ्घर्ष समितिले खारेजीको माग गरेको जनाएको छ ।

यस क्षेत्रको हजारौँ परिवारको वासस्थान, खेतीयोग्य जमिन लगायत डुबानमा पर्ने, भाषा, संस्कार, परम्परा, मठमन्दिर र सांस्कृतिक सम्पदा विलीन हुने, सम्पूर्ण किराँतहरूकै आस्थाको केन्द्र रहेको त्रिवेणी स्थित खुवालुङ पूर्ण डुबान हुने भएकाले खारेज गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।

कोसी उच्च बाँध राष्ट्रकै हित विपरित रहेको सङ्घर्ष समितिका सचिव छत्रप्रसाद राईले बताए । यो अन्तराष्ट्रिय कानुन विपरीत रहेको समेत उनले उल्लेख गरे ।

‘यसले जैविक विविधता र पर्यावरणीय सन्तुलनमा अपुरणीय क्षति पुर्याउँछ’, उनले भने, ‘परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको पूर्व-सहमति विना योजना अगाडि बढाउनुले लोकतान्त्रिक मूल्य र मानव अधिकारको उल्लङ्घन भएको छ ।’

सङ्घर्ष समितिले परियोजना तत्कालै खारेजी गर्न विभिन्न मागहरू अघि सारेको छ । कोसी उच्च बाँध निर्माण प्रक्रिया तुरुन्त रोक्नुपर्ने, परियोजनाको प्रभाव मूल्याङ्कन पारदर्शी, वैज्ञानिक र सहभागी प्रक्रियाबाट गरिनु पर्ने, प्रभावित समुदायको पूर्व-सहमति अनिवार्य हुनपर्ने, वैकल्पिक, दिगो र स्थानीय जन अनुकूल विकास विकल्पहरू अघि सार्नुपर्ने माग समितिको छ ।

उच्च बाँधले, धनकुटा लगायत उदयपुर, खोटाङ, भोजपुर र संखुवासभा गरी पाँच जिल्लाको तल्लो भू-भागमा ठूलो क्षति हुने र वस्ती विस्थापित हुने समितिको ठहर छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पोख्रेलले ज्ञापनपत्र बुझ्दै सम्बन्धित निकायमा पठाउने उल्लेख गरे । उनले यो ठूलो समस्या रहेकाले वार्ता र छलफलका लागि सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!