धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ । आइतबार कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले सबै पक्षबीच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । जिल्ला अस्पताललाई ५० वा १०० शय्यामा विस्तार गर्ने विषयमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।
उनले धनकुटा अस्पतालमा राखिएको तर, सञ्चालनमा नआएको सघन उपचार कक्ष (आइसियु) सेवा पनि तत्कालै सञ्चालनमा ल्याउने घोषणा गरे । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले सेवा सञ्चालनका लागि आवश्यक बजेट थप गर्ने प्रतिवद्धता जनाइन् ।
पछिल्लो समय जिल्लामा मृगौला रोगी बढ्दै गएका र डायलाइसिसका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो । त्यसको अन्त्य गर्नका लागि धनकुटामा हेमोडायलाइसिस सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले बताए ।
‘डायलाइसिस सेवाको उपकरण जिल्ला अस्पतालमा आएको करिब दुई वर्ष भएको थियो’, उनले भने, ‘१५ शय्याको अस्पतालमा सुरु गरिएको हेमोडायलाइसिस सेवाले धनकुटासहित तेह्रथुम र भोजपुर जिल्लाका बिरामीलाई राहत मिल्ने छ ।’
हेमोडायलाइसिस सेवाबाट हप्तामा १२ जना बिरामीलाई सेवा दिन सकिने र दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म लाभान्वित हुने उनको भनाइ छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यससँग सम्बन्धित बिरामीहरूलाई अब सहज हुने उल्लेख गरे । शिक्षा र स्वास्थ्य जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने उनको धारणा थियो । उनले नगरपालिकाको तर्फबाट अस्पताललाई आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
अस्पताल व्यवस्थापन समिति तथा जिल्ला समन्वय समितिका अध्यक्ष निरन तामाङले जनशक्ति अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए । उनले सेवा सञ्चालन गर्नका लागि आवश्यक कर्मचारी र बजेट मिलाउन मन्त्री राईलाई आग्रह गरे ।