विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनको दोस्रो दिन आज स्वास्थ्य पूर्वाधार, चुनौती र सम्भावनाबारे विचार-विमर्श भएको छ । शिलापत्रका सम्पादक योगेश ढकालले डा. भगवान कोइराला, डा. ज्ञानेन्द्रमान सिंह कार्की, कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झा र विजयपुर अस्पतालका अध्यक्ष पङ्कज खतिवडासँग संवाद गरेका हुन् ।
डा. कोइरालाले न्यूनतम स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउनुपर्ने जोड दिए । १४ हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेका डा. कोइरालाले नाफामुखी नभई सामाजिक उत्तरदायित्वमा आधारित ट्रस्ट मोडलमार्फत स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने बताए ।
‘स्रोत घट्दो छ, अन्तर्राष्ट्रिय सहयोग घटिरहेको छ, यस्तो अवस्थामा कम लागतमा बढी सेवा दिन सक्ने मोडेल आवश्यक छ’, उनले भने । उनले सरकारसँग साझेदारी गरी सेवाका लागि निश्चित शुल्क निर्धारण गर्दा सबै पक्षलाई फाइदा पुग्ने बताए ।
विराट मेडिकल कलेजका अध्यक्ष डा. कार्कीले विराटनगरलाई मेडिकल हब बनाउन सकिने बताए । ‘५६० विदेशी विद्यार्थीले नेपालमा मेडिकल शिक्षा लिइरहेका छन्, यसले मुद्रा भित्र्याउने र सेवा विस्तारमा योगदान पुर्याउनेछ’, उनले भने, ‘जति स्रोतको लगानी हुन्छ, त्यति नै विदेशी मुद्रा देशमा भित्रिन्छ ।’
कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले देशको वर्तमान आर्थिक अवस्थालाई ध्यान दिँदै पहाडी भेगका जनताको बसाइँसराइको पछाडि विविध कारण रहेको बताइन् । ‘कोशी अस्पतालको २५ प्रतिशत बजेट फ्रिज भएको छ’, उनले भनिन्, ‘कम स्रोतका कारण सरकारी अस्पतालबाट धेरै अपेक्षा गर्न कठिन हुन्छ ।’
विजयपुर अस्पतालका अध्यक्ष खतिवडाले स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव सुनाउँदै सरकारी प्रक्रियागत जटिलता र सिट घटाउँदा स्रोतमै असर पर्ने बताए । स्वास्थ्य इन्स्युरेन्स नीतिमा सुधार गरी निजी अस्पताललाई समेट्दा मात्रै लक्ष्यमा पुग्न सकिने उनको भनाइ थियो । उनले अटिजम केयरमा लगानी बढाउनुपर्नेमा जोड दिए ।