
विराटनगर । झापाको भद्रपुर नगरपालिका-२ चारआलीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बतासीका ३४ वर्षीय दिलिप राजवंशी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओम साइ पाथीभरा अस्पताल भद्रपुर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
भद्रपुरबाट केचनातर्फ जाँदै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअप चालक भद्रपुर-३ का ४४ वर्षीय पङ्कज सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीब्र गतिमा रहेको मोटरसाइकलको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।