धनकुटा । धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ । आगामी बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म प्रदर्शनी तथा पर्यटन उत्सव हुन लागेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गर्दै धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा प्रदर्शनी तथा उत्सव आयोजना हुने जनाएको छ ।
मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।
प्रदर्शनीमा घरेलु उत्पादन, सांस्कृतिक र स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरि प्रदर्शनी तथा उत्सव गर्न लागिएको मेला आयोजक समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।
आयोजक समितिका संयोजक राईका अनुसार ‘कोशीको गौरव हिमालको सान पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराका साथ घरेलु उत्पादन एवम् पर्यटन तथा जातीय परिकार प्रवर्द्धनका लागि मेला हुन लागेको हो ।
मेलामा सञ्चालनका लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने एक करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाको आयोजना तथा कोशी प्रदेश सरकार, धनकुटाका स्थानीय तह र पर्यटन कार्यालय धरानको सहयोगमा मेला हुन लागेको हो ।