
विराटनगर । झापाको बुद्धशान्ति गाँउपालिका-१ भोटेटार स्थित भित्री सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही स्थानका २४ वर्षीय प्रेम गुरुङको मृत्यु भएको हो ।
उनी ट्याक्टरका सह-चालक भएको खुलेको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिहीबार विरिङ खोलाबाट भोटेटार गाउँतर्फ जाँदै गरेको प्र १-०१-००२ त ८३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
प्रहरीले ट्याक्टर चालक सोही स्थानका ३४ वर्षीय गणेश गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।