सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका चौबिसेवासीलाई शुद्ध पानी वितरण गर्ने उद्देश्यले सुरु गरिएको लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

Advertisement

सङ्घीय सरकारको आर्थिक वर्ष २०८०-०८१ को योजना अनुसार १ करोड १५ लाख रुपैयाँ लागत अनुमानमा आयोजनामा सञ्चालन भइरहेको छ । आयोजना सम्पन्न भएपछि १, २ र ८ नम्बर वडावासी लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताइन् ।

लामो समयदेखि पानीको समस्या झेल्दै आएका सौर्य, मुढेबास, डाँडागाउँ र कोर्नाका करिब एक हजार दुई सय घरधुरी यसबाट लाभान्वित हुने उनको भनाइ छ । यो आयोजना सम्पन्न भएपछि लामो बाटो हिँडेर पानी जोहो गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास छ ।

आयोजनाको भौतिक संरचना निर्माण सम्पन्न भइ विद्युत, पाइपलाइन विस्तार, ट्याङ्की निर्माण र भवन निर्माणको काम सम्पन्न भएको छ । अब मेसिनरी समान जडानको काम मात्रै बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

स्थानीयले पछिल्लो केही वर्षदेखि आकाशबाट परेको पानी ट्याङ्कीमा जम्मा गरेर राख्ने गरेका छन् । त्यसरी जम्मा गरेको पानी पशुचौपायाका लागि प्रयोग गर्ने गरिएको चौबिसे गाउँपालिका-२ की नरमाया मगरले बताइन् ।

‘सँधै त यसले पनि पुग्दैन । तर केही राहत दिन्छ’, उनले भनिन्, ‘गाईबस्तुका लागि पनि नियमित पानी बोक्नुपर्दा त धेरै समस्या हुन्छ । खानेपानी जोहो गर्नै धौ-धौ छ । अब भने घरमा नै धारा आउँछ भन्ने हल्ला छ । सही हो भने हामीलाई सहज हुने थियो ।’

चौबिसे-२ लाफा चोकका अग्निप्रसाद पानी जाहो गर्दा बिहान बित्ने गरेको बताउँछन् । ‘रातारात टाढाको बाटो पानी लिन जानुपर्छ’, उनले भने, ‘यो आयोजना सम्पन्न भएपछि पानीका लागि दुःख गर्नुपर्ने बाध्यता हटेदेखि हामीलाई राहत मिल्थ्यो ।’

लाफा चोकमा करिब १ सय बढी घर-परपरिवारको बसोबास छ । उनीहरू आधा घण्टाको बाटो हिँडेर लाइनमा बसेर खानेपानीको जोहो गर्छन् । लामो समय देखी पानी नपरेका कारण पानीको मुहान समेत सुक्दै गएका छन् ।

पानीका मुहान वरपर भएका रूख तथा बोटविरुवा काट्ने क्रम बढेपछि पानीको मुहान सुक्न थालेको स्थानीय अगुवाहरूको बुझाइ छ । जसले भोलिका दिनमा थप समस्या निम्त्याउने खतरा बढेको उनीहरू बताउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!