काठमाडौं । काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. शर्माले यस्तो बताएका हुन् । उनले मेडिकल कलेजहरूले विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको उल्लेख गरे ।
‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर हात उठाएर भर्ना रोकेको त थाहा पाइहाल्नु भयो । यसपालि ल बाध्यकारी भयो । भर्ना भयो । अर्को वर्ष त कलेजले सिट एप्लाइ गर्दछ । सिट एप्लाइ गर्दा अहिले ८०-१०० वटा पाइरहेको सिट १५ वटा एप्लाइ गर्दछ । ८५ वटा सिट कम हुन्छ’ उनले भने ।
उनले बाध्यकारी व्यवस्था लागु गरेको खण्डमा करिब आठ सय विद्यार्थी अर्को वर्षबाट एमडीएमएस पढ्नबाट वञ्चित हुने जिकिर गरे ।
‘समस्या केही नरहे पनि कसरी निजी मेडिकल कलेजलाई धराशायी बनाउने ? भर्ना रोक्ने, अर्को नयाँ समस्या झिकेर विद्यार्थीलाई बाध्य बनाएर विदेश पढ्न पठाउने भन्ने षड्यन्त्र भइरहेको छ’, उनले भने, ‘नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धित कलेजहरू कसरी खत्तम गर्ने भन्ने षड्यन्त्र प्रेरित काम भइरहेको छ ।’