धनकुटा । धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१० का २६ वर्षीय शोभित खड्का र धनकुटा नगरपालिका-६ स्थित बीच बजारका २४ वर्षीय सुनिल श्रेष्ठ छन् । धनकुटा बजारबाट विभिन्न समयमा मार्ट, सहकारी संस्था, मनी ट्रान्सफर, किराना पसल तथा सरकारी कार्यालयबाट नगदसहित विभिन्न सामग्री चोरी हुने क्रम बढेको थियो ।
लगातार चोरीका घटना बढेपछि प्रहरीले विशेष निगरानी गर्दै संलग्नको खोजीलाई तीब्र बनाएको थियो । धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार बैशाख २ गते धनकुटा नगरपालिका-५ स्थित हटियालाइनमा रहेको मिनी मार्टबाट २७ हजार ६ सय २० रुपैयाँ, एकथान सिसिटिभी क्यामेरा, डिभिआर बक्स चोरी भएको थियो ।
यस्तै बैशाख ७ गते धनकुटा नगरपालिका-६ स्थित शिवपार्क नजिकै जमुना श्रेष्ठको घरमा कृष्णप्रसाद दाहालले सञ्चालन गरेको कान्तिपुर एयर ट्राभल एण्ड टुर्स प्रालिबाट ९५ हजार नगद र सिसिटिभी क्यामेरा, डिभिआर बक्स र हस्ताक्षर गरिएका विभिन्न बैङ्कका ६ वटा चेक चोरी भएको थियो ।
यस्तै २०८१ चैत २ गते धनकुटा नगरपालिका-४ स्थित सडक डिभिजन कार्यालयबाट दुई थान ल्यापटप र चार्जर चोरी भएको थियो । यस्तै गत चैत १८ गते धनकुटा नगरपालिका-६ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयबाट १० हजार दुई सय ७० रुपैयाँ नगद चोरी भएको थियो । यस्तै सोहीदिन धनकुटा नगरपालिका-७ स्थित साथी बचत तथा ऋण सहकारी संस्थाबाट २९ हजार चार सय ७० रुपैयाँ नगद चोरी भएको थियो ।
धनकुटाका विभिन्न स्थानबाट फरक-फरक समयमा एक लाख ६२ हजार तीन सय ६० नगदसहित दुई थान ल्यापटप, दुई थान सिसी क्यामेराको डिभिआरएस र ६ वटा चेक चोरी भएको प्रहरीको भनाइ छ ।
खड्कालाई सुनसरीको धरान उपमहानगरपालिका-१ बाट र श्रेष्ठलाई धनकुटाबाट बैशाख ९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट चोरीमा प्रयोग हुने रेन्ज, मार्तल, पेचकस, टर्चलाइट, ह्याक्सो ब्लेड, सर्जिकल कैँची र बोल्ट कटर बरामद भएको प्रहरीले जनाएको छ । साथै ७५ हजार दुई सय ७० रुपैयाँ नगद पनि बरामद भएको छ ।
यस्तै विभिन्न बैङ्कका ६ वटा चेक, एक थान मोबाइल, सिम एक थान, सिसिटिभी क्यामेरा एक थान, सिसिटिभी डिभिआर बक्स दुई थान र ल्यापटप दुई थान बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।
खड्का करिब दुई वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा थिए । तर प्रक्रिया असफल भएपछि काठमाडौंको एक रेष्टुरेन्टमा काम गर्दै पठाओ चलाएर बसेका थिए । उनले खर्च अभावमा उतैबाट चोरीमा संलग्न हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अहिले उनी धनकुटाको एक होटलमा बसेर चोरीका घटनामा संलग्न हुँदै आएको खुलेको प्रहरीको भनाइ छ । श्रेष्ठ भने खड्कासँग ल्यापटप बिक्रीवितरणमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
भिडियो-