
धनकुटा । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित देशैभरका शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिँदा कक्षा १२ को परीक्षा सञ्चालनमा कठिनाइ हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले निर्धारित मितिमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेपनि समस्या देखिएको हो । बैशाख ११ गतेबाट सुरु हुने परीक्षाका लागि शिक्षकहरू तयार छैनन् । उनीहरू मागहरू पूरा नभएसम्म आन्दोलन नछाड्ने पक्षमा छन् ।
यसको असर देशभरसँगै धनकुटामा पनि देखिएको छ । धनकुटाबाट दुई हजार नौ सय ९२ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।
जसमा नियमिततर्फ एक हजार आठ सय ६१ जना छन् भने ग्रेड वृद्धितर्फ एक हजार एक सय ३१ जना छन् । परीक्षा सञ्चालनका लागि ११ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
सम्पूर्ण काम शिक्षकहरूले नै गर्नुपर्ने र मुख्य साचो नै विद्यालयको केन्द्राध्यक्षसँग रहेकाले परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले बताइन् ।
उनका अनुसार धनकुटामा परीक्षा सञ्चालनका लागि करिब एक हजार पाँच सय जनशक्तिको आवश्यकता पर्दछ । प्रश्नपत्र इमेलबाट आउने हुँदा परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रिन्ट गर्नुपर्ने इकाईले जनाएको छ । शिक्षक तथा कर्मचारी आन्दोलित हुँदा नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान समेत प्रभावित भएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













