
विराटनगर । धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आमा गम्भीर अवस्थामा छिन् ।
सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट मृत्यु भएको हो । सुशीलकी पत्नी ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीको भनाइ छ । उनको प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सोमबार साँझ घरमै आमासहित तीन सन्तानहरूले विष सेवन गरेको अवस्थामा स्थानीयले फेला परेका थिए । तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा तीन बालबालिकाको बाटोमा नै मृत्यु भएको थियो ।
प्रहरीले घटनाका सम्बन्धमा अबेर थाहा पाएको थियो । विष सेवन गर्नुको कारण खुल्न बाँकी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।