
विराटनगर । मादक पदार्थ सेवन गरेका पति-पत्नीबीचको झगडामा निर्दोष चार महिने शिशुले ज्यान गुमाउनु परेको छ । घटना पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका-२ अर्मलेको हो । २१ वर्षीय दीपेन्द्र परियार र उनकी पत्नी ३५ वर्षीया कमला परियारबीच सोमबार राति झगडा भएको थियो ।
सोही क्रममा कमलाले शिशुलाई ढुङ्गाले हानेर सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शिशुलाई उपचारका लागि पाल्पास्थित रामपुर अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।
लछारपछार पार्नुका साथै ढुङ्गाले हानेपछि घाइते शिशुलाई स्थानीय र हजुरबुबाले उद्धार गरेर अस्पताल लगेका थिए । दीपेन्द्र र कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार माइत जानका लागि हिँडेकी कमला र दीपेन्द्रबीच तनहुँको घिरिङ्ग गाउँपालिका-४ गापडाँडामा विवाद भएको थियो । स्थानीयका अनुसार कमलाले दीपेन्द्रसँग दोस्रो विवाह गरेकी हुन् । यसअघि पहिलो श्रीमानतर्फ उनका दुई सन्तान छन् ।