
विराटनगर । खोटाङको रावाबेँसी गाउँपालिकामा कार्यरत कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको कार्यालय सहयोगी ५७ वर्षीय महेश रेग्मी मृत भेटिएका हुन् ।
रावाबेँसी-१ कुभिण्डेका उनी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेग्मी गोरेटो बाटोबाट करिब ९ मिटर तल खसेको अवस्थामा थिए । बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी १६ महिनापछि अनिवार्य अवकाश हुँदै थिए । रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन् ।