ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्री सवार जिपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
फुङलिङबाट दर्शनार्थी लिएर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा फुङलिङ–१० सेवारो चोकमा लत्रिएको विजुलीको तारबाट आइतबार बिहान करिब ५ बजे करेन्ट प्रवाह भएर आगो लागेको हो ।
करेन्ट लागेर ललितपुर–१० की सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, सविनाका वुवा झापाको भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र आमा ६९ वर्षीया सरिता पौडेलको घटनास्थलमै मृत्यु भएको छ । जीप चालक फुङलिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराईको पनि घटनास्थलमै ज्यान गएको छ । ४५ वर्षीया सविना र उनका छोरा १० वर्षीय भबिमय पनि गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
पाथीभरा मन्दिर दर्शनका लागि जान सविना, छोरा छोरी र बुवा आमालाई लिएर आइतबार साँझ फुङलिङ पुगेकी थिइन् । सोमबार बिहानै पाथीभरा मन्दिरतर्फ जाने क्रममा घटना भएको हो । चालकले विजुलीको तार भुईँमा झरेको पत्तो नपाउँदा तारमा ठोक्किएर गाडीमा करेन्ट प्रवाह भएको हो ।
सविना र छोरा भविमय गाडीबाट ओर्लिन सफल भएकाले जोगिएका हुन् । चट्याङका कारण पिन फुटेर तार भुइँमा लत्रिएको हुनसक्ने विधुत प्राधिकरणको भनाई छ ।
यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।