संगालोखबर


विराटनगर । सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक संखुवासभाबाट पक्राउ परेका छन् । भारतको बिहार राज्य बेगुसराइ जिल्ला नावकोठीका २८ वर्षीय विवेक कुमार र तेलनी पोष्ट समस्तीपुरका ३५ वर्षीय गंगाविष्णु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार उनीहरू खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराबाट पक्राउ परेका हुन् ।

Advertisement

विवेक कुमारले अञ्जना थापा मगरको घरमा पुगेर निःशुल्क सुनचाँदीको गरगहनाहरू टल्काइदिने बताएका थिए । उनले सुनको सिक्री मागेर तेजाब जस्तो देखिने तरल पदार्थ भएको बटुकामा राखेर केही समय आगोमा उमालेर दिएका थिए ।

मगरले सिक्रीको तौल कम भएको शङ्का गरेर तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् । जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले विवेकलाई मगरकै घरबाट पक्राउ गरेको थियो ।

उनीसँग सोधखोज गर्दा अर्को एक जना साथी पनि सँगै आएको बताएका थिए । सोही आधारमा खोजी गर्ने क्रममा साहलाई खाँदबारी नगरपालिका-१ टुँडिखेल स्थित एक होटलबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथमा भएको विभिन्न सामानहरू र नगद पनि बरामद गरेको छ । उनीहरूमाथि आइतबार अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । संखुवासभा प्रहरीले अन्य व्यक्तिहरू पनि ठगिएको हुनसक्ने भन्दै सम्पर्कमा आउन आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!