विराटनगर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बिच भाग भाँचिएको छ । बुधबार रातीको वर्षापछिको बाढीले मिर्चैया-कटारी-घुर्मी सडक योजना अन्तरगत निर्माणाधीन अवस्थाको पक्की पुल भाँचिएको हो ।
बेमौसमी वर्षा पछिको बाढीले अमाह खोलामा लगाइएको उक्त पुलमा क्षति पुगेको जनाइएको छ । बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पुगेको हो । पुल ढलान भएको २० दिन मात्रै भएको थियो ।
सूर्य कन्स्ट्रक्सन धरानले पुल निर्माणको ठेक्का पाएको थियो । निर्माण नसकिँदै पुलमा क्षति पुगेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पुल भत्किए पनि इन्स्योरेन्सले क्षतिको कभर गर्नेछ । तर त्यसका लागि ठेकेदार कम्पनीलाई पुनः अर्को पुल बनाउन भने समय लाग्ने छ ।
सडक विभागले ७२ किलोमिटर लामो मिर्चैया-कटारी-घुर्मी सडकको स्तरोन्नति तथा विस्तारका लागि ईआईए स्वीकृत गरेर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । त्यसका लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको जनाइएको छ ।
यो सडक खण्डभित्र ४ वटा लामो पुल र ७ वटा सानो पुल निर्माण हुने जनाइएको छ । त्यस्तै २ सय ८९ वटा पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याप कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने उल्लेख गरेर सडक विभागले ईआईए स्वीकृत गरेको छ ।