
विराटनगर । कोशीका दुई जिल्लामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार झापा र मोरङका दुई स्थानमा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङले लाग्दा सुनसरीको इटहरी घर भइ मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी स्थित मामाघरमा आएका १२ आविष्कार बरालको मृत्यु भएको हो । प्रहरीका अनुसार साइकल कुदाइरहेका उनी चट्याङ लागेर घाइते भएका थिए ।
उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।