विराटनगर । वैदेशिक रोजगारीको सिलसिलामा घरबाट निस्किएका इलामका एक युवक भारतको दिल्लीबाट एक सातादेखि बेपत्ता भएका छन् ।
इलामको माईजोगमाई गाउँपालिका-२ निवासी ३७ वर्षीय छत्रकुमार चापागाईँ चैत १४ गते दुबई जानका लागि घरबाट निस्किएका थिए । उनी दमकस्थित मोन्टेज ओभरसिज मार्फत रोजगारीका लागि विदेश जान लागेका थिए ।
उनकी बहिनी निर्जला क्षेत्रीका अनुसार, चापागाईँले चैत १७ गते साँझ दिल्लीको होटल ‘वेलकम इन’ मा बसेको जानकारी दिएका थिए । उनले दिल्ली पुगेको खबर फोनमार्फत आफ्ना परिवारलाई दिएका थिए ।
तर, त्यसपश्चात् चापागाईँसँग सम्पर्क हुन सकेको छैन । उनीसँगै रहेका व्यक्तिको भनाइ अनुसार, चापागाईँ होटलमा झोला राखेर औषधी किन्न भनेर गएका थिए । तर उनी त्यसपछि कोठामा नफर्किएको र सम्पर्कविहीन भएको जानकारी आएको छ ।
परिवारले घटनालाई गम्भीर रूपमा लिएको छ । बेपत्ताको खबर पाएपछि छत्रकुमारका भाइ प्रकाश चापागाईँ खोजीका लागि दिल्ली पुगिसकेका छन् । निर्जलाले भनिन्, ‘दाइ हराएको खबर आएको दुई-तीन दिनमै भाइ दिल्ली गएका छन् । तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।’
म्यानपावर कम्पनीका सञ्चालक काजीमान बुढाथोकीले खोजी कार्य भइरहेको बताए पनि ठोस प्रगति नभएको परिवारको भनाइ छ । चापागाईँ यसअघि पनि वैदेशिक रोजगारीमा गएका थिए र सफलतापूर्वक फर्किएका थिए ।
बेपत्ता भएका छत्रकुमारको अवस्थाबारे जानकारी हुने जो-कोहीले निकटतम प्रहरी कार्यालय वा परिवारलाई खबर गर्न आग्रह गरिएको छ ।