धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आउँदो पर्यटन वर्ष २०८२ मा धनकुटालाई उच्च मूल्याङ्कनका साथ समेटिने बताएका छन् ।
शुक्रबार विराटनगरस्थित कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयद्वारा धनकुटामा आयोजित सरोकारवालासँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री मण्डलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनका अनुसार, पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको उद्घाटन आगामी चैत्र २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुनेछ । मन्त्री मण्डलले धनकुटाका पर्यटकीय सम्भावना, पूर्वाधार, गुनासा र मागलाई प्राथमिकताका साथ समेटिने उल्लेख गरे ।
‘धनकुटा पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला हो’, मन्त्री मण्डलले भने, ‘हामीले गुनासालाई सुनेका छौँ, अब त्यसलाई नतिजामा र्पुयाउने काम हुनेछ ।’
उनले रोजगारीको सिर्जना, राष्ट्रिय पूँजी निर्माण र दिगो पर्यटन विकासका लागि पर्यटन वर्ष २०८२ महत्वपूर्ण हुने बताउँदै स्थानीय सरोकारवाला, व्यवसायी, सञ्चारकर्मी र नागरिक सबैलाई साथ दिन आह्वान गरे ।
पर्यटन वर्षको मूल उद्देश्य रोजगारी सिर्जना, स्थानीय भाषा, कला, संस्कृति, कृषि उत्पादन, साना तथा मझौला उद्यमको प्रवर्द्धन, भौगोलिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार तथा समग्रमा स्थानीय अर्थतन्त्र सुदृढ गर्दै प्रदेश र राष्ट्रिय अर्थतन्त्रमा योगदान र्पुयाउने रहेको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयका निर्देशक तथा सह-समिती सदस्य कृष्ण शाहले १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिए ।
अन्तरक्रियामा उद्योग वाणिज्य सङ्घ धनकुटा, होटल व्यवसायी सङ्घ, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकारसहित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।