सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेवास स्थित संयुक्त माध्यमिक विद्यालय टोक्रोम्बामा अध्ययनरत ६ जना विद्यार्थीलाई विद्यालयले वार्षिक परीक्षा दिनबाट बञ्चित गरेको छ । विद्यालय प्रशासनले न्यूनतम ७५ प्रतिशत उपस्थितिको मापदण्ड नपुगेको भन्दै उनीहरूलाई परीक्षाबाट बञ्चित गरेको हो ।

चैत्र १४ गतेदेखि सञ्चालनमा आएको वार्षिक परीक्षाबाट कक्षा ४ देखि ९ सम्मका विद्यार्थी प्रभावित भएका छन् । परीक्षा दिन नपाउने विद्यार्थीहरूमा कक्षा ४ की कौशिला विश्वकर्मा र हिमकला लिम्बू तथा कक्षा ९ का आशिष मगर, सुमन्ता लावती, रिना मगर र टिना मगर रहेका छन् ।

Advertisement

विद्यार्थीहरूलाई हाजिरी नपुगेको कारण देखाउँदै परीक्षा दिन रोकिएको भए पनि अभिभावकहरूले विद्यालय प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । कक्षा ९ का आशिष तामाङकी आमा टेकमाया मगरका अनुसार विशेष कारणले छोरा विद्यालयमा नियमित उपस्थित हुन नसकेको जानकारी दिएर विद्यालयमा निवेदनसमेत दिइएको थियो । तर विद्यालय प्रशासनले बेवास्ता गर्दै परीक्षा दिनबाट बञ्चित गरेको उनको गुनासो छ ।

‘मेरो छोराले केही गल्ती गरेको थियो, त्यो हामीले स्विकारेका पनि थियौं । परीक्षा दिन देऊ भनी धेरै आग्रह गरें, तर प्रधानाध्यापकले कुनै हालतमा हुँदैन भन्नुभयो’, टेकमायाले भनिन् ।

गत वर्षको शैक्षिक सत्रमा समेत केही विद्यार्थीको अंक न्यून आएको भन्दै यसपालिको परीक्षा दिन नदिएको अभिभावकहरूले बताए । यता विद्यालयका प्रधानाध्यापक मानबहादुर बस्नेतले भने परीक्षा दिनका लागि विद्यार्थीले कम्तीमा ७५ प्रतिशत उपस्थिति अनिवार्य रहेको स्पष्ट गरे ।

‘असार १८ गते विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकबीच बैठक बसेको थियो’, उनले भने, ‘त्यस बैठकको दोस्रो बुँदामा ७५ प्रतिशतभन्दा बढी हाजिरी पुगेका विद्यार्थी मात्र वार्षिक परीक्षामा सहभागी गराउने निर्णय गरिएको थियो ।’

उनका अनुसार परीक्षा दिन नपाउने विद्यार्थीहरूमध्ये आशिषको हाजिरी ६३ प्रतिशत रहेको छ भने अन्य पाँच जनाको ६५ प्रतिशत मात्रै पुगेको हो । यसअघि अर्धवार्षिक परीक्षामा २१ जनाको हाजिरी कम देखिएको र उनीहरूले वार्षिक परीक्षासम्म हाजिरी पुर्‍याउने भन्दै निवेदन दिएका थिए । तर अन्ततः तीमध्ये ९ जनाले अपेक्षित उपस्थिति जनाउन नसकेको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयले पटकपटक अभिभावकसँग सम्पर्क गर्न खोज्दा पनि सफल हुन सकेन ।

स्थानिय एक अभिभावकका अनुसार विद्यार्थीहरूलाई रुँदै घर फर्किरहेको देखेपछि जानकारी लिँदा शिक्षकले परीक्षा दिन नदिएको बताएका थिए । अभिभावकले विद्यालय व्यवस्थापन समितिसँग कुरा गर्दा शिक्षकसँग सम्पर्क गर्न भनिएको र शिक्षकले भने फेरि निर्णय प्रधानाध्यापकको भएको भन्दै पन्छिने गरेको गुनासो गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!