
विराटनगर । उदयपुरको कटारी नगरपालिका-४ स्थित मुसहरी टोलमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सिन्धुलीको दुधौली नगरपालिका-५ का ७१ वर्षीय अमर बहादुर सुनुवारको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो कटारीबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल प्र ०२-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलले साइकलमा सवार सुनुवारलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कटारी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक कटारी-६ का २३ वर्षीय आनन्द मगर र पछाडि सवार कटारी-५ की २२ वर्षीया सरिना मगर सामान्य घाइते भएका छन् । उनीहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
तीब्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।