सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-८ लुकुवा टोलका २५ वर्षीय बिसन राई घरको आर्थिक अवस्था सुधार गर्न भन्दै रोजगारीका लागि मलेसिया गए । तर, मलेसिया पुगेको करिब १४ महिनापछि अचानक बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो ।

Advertisement

पैसा कमाउने सपना बोकेर विदेशिएका उनी अचानक एपेन्डिसाइटिस भएपछि रित्तोहात घर फर्किन बाध्य भएका छन् । उनी चैत १० गते शरीरको आलो घाउसहित काँधका ऋणको भारी बोकेर घर फर्किएका हुन् ।

गतवर्ष कात्तिकमा आफन्त र साहुबाट चर्को व्याजमा करिब साढे तीन लाख ऋण लिएर मलेसिया गएका थिए । तर, अहिले उनलाई ऋणभन्दा पनि शरीरको आलो घाउले पिरोलिरहेको छ ।

उनी एपेन्डिसाइटिसको अपरेसन गरेर करिब एक महिना अस्पताल बसेर काममा फर्किए । तर, केहिदिन काममा गए पश्चात् गर्मीले अप्रेसन गरेको घाउ पाकेर टाँका खुस्किएको राईले सुनाए ।

पुनः उपचारका लागि अस्पताल पुगेको र डाक्टरले भनेको शुल्क तिर्न नसकेपछि आफू नेपाल फकिएको उनले बताए । ‘उनीहरूले फेरी मेरो घाउ सिलाउन मानेनन्’, उनले भने, ‘जति पैसा मागेका थिए त्यति पैसाले त नेपाल फर्कन पुग्ने भएकाले म उपचार गर्न घर आएको हुँ ।

मलेसियामा आफ्नो जीवनको कुनै ग्यारेन्टी नदेखेपछि नेपाल फर्किएका उनलाई उपचार खर्चको अभाव भएको छ । उनले आफ्नो उपचारमा सहयोग गर्न हारगुहार गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण कष्टपूर्ण दैनिकी बिताउन बाध्य भएको उनले सुनाए ।

जिल्ला अस्पताल धनकुटा आएका राईलाई डाक्टरले सुविधा सम्पन्न अस्पतालमा जान भनेपछि झन समस्या थपिएको छ । आर्थिक अवस्था कमजोर भएका बिसनलाई उपचारमा सहयोग गरेर जीवन रक्षा गरिदिन धनकुटा नगरपालिका-८ का वडाअध्यक्ष रसबहादुर राईले अपिल गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!