नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । कोशी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिको उद्घाटन खेलमा उदयपुर विजयी भएको छ । विराटनगर–१९ बैजनाथपुर क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो । पहिलो जितसँगै उदयपुरले दुई अंक जोडेको छ ।

८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । इलामका श्याम यादवले २४ बलमा १४ रन बनाए । इलामका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisement

उदयपुरका तेज आचार्यले ४ ओभरमा ११ रन खर्चेर तीन विकेट लिँदा सुशान्त तिम्सिनाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच उदयपुरका तेज आचार्य घोषित भए । उनले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

यसअघि टस हारेर ब्याटिङ गरेको उदयपुरले १९ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो । उदयपुरका प्रभात किरण राईले सर्वाधित २२ रन बनाए । १९ बलमा उनले ३ चौका प्रहार गरे ।

निर्देश बस्नेतले २८ बलमा १५ रनको पारी खेल्दा निरन्जन तिवरीले १६ बलमा १० रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । इलामका लभ कामतले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिए । प्रजज्वल खत्रीले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सुरु भएको प्रतियोगितामा ६ जिल्लाको सहभागिता छ । भोली दुई खेल हुनेछन् ।

पहिलो खेल मोरङ र उदयपुरबीच हुनेछ । दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र सुनसरीबीच हुने छ । चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार र उपविजेता टोलीले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!