सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा आगामी बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने भएको छ । डाँडाबजार फुटबल क्लबको आयोजना तथा साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुडको सह-प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

Advertisement

आज आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता डाँडाबजारको खेल मैदानमा हुने जनाएको छ । ‘डाँडाबजारको सान : खेलकुद तथा पर्यटनबाट पहिचान’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा धनकुटासहित मोरङ र सुनसरीबाट आठ टिमको सहभागिता रहने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब २२ लाख रुपैयाँ लाग्ने छ । जसमा पालिकाले सात लाख, वडा कार्यालयले तीन लाख र सह-प्रायोजकले चार लाख उपलब्ध गराउने जनाइएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई नगद तीन लाख र उप-विजेतालाई नगद एक लाख ५५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार थेगिन लिम्बुले जानकारी दिए । गतवर्षको तुलनामा यसवर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

गतवर्ष विजेता टोलीले दुई लाख ५० हजार र उप-विजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए । प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

उनले खेलकुदका माध्यमबाट कुलतमा लागेकाहरूको लत छुटाउन सकिने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा दिएको समेत उल्लेख गरे । स्थानीय खानेकुरासँगै साँगुरीगढीको पर्यटन प्रवर्द्धनमा प्रतियोगिताले टेवा पुर्याउने आयोजकको विश्वास छ । प्रतियोगिता बैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!