विराटनगर । इलाममा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन् । पीडितलाई अदालत जान रोक्ने उद्देश्यले तीन लाख रुपैयाँ दिएर घटना गुपचुप बनाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ का २४ वर्षीय केशव गिरी र घटना मिलाउन खोज्ने उनका बुबा ५८ वर्षीय केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याल आइतबार पक्राउ परेका हुन् ।
केदारनाथ र तुलाधरलाई घरबाटै पक्राउ गरेको प्रहरीले केशव र नारायणलाई इलाम र झापाको सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । चारै जनाविरुद्ध जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरलाई जानकारी दिए ।
गिरीले माई-२ को सितलीस्थित चिया बगानमा चैत ६ गते बालिकालाई प्रलोभनमा पार्नुका साथै डरधम्की देखाएर बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ । घटना मिलाउन पीडकका छिमेकी अर्यालले पीडित पक्षलाई बोलाएर दिएको तीन लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।