विराटनगर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई चैत ६ गते प्रहरीले पक्राउ गरेको हो ।
संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम कुमार लामिछानेका अनुसार गाउँघरमै लुकेर बसेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या गरेर फरार भएका थिए ।
तामाङलाई जिल्ला अदालत संखुवासभाले हत्या आरोपमा दोषी ठहर गर्दै २०६७ कात्तिक १७ गते २० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार चलान गरिएको इन्स्पेक्टर लामिछानेले जानकारी दिए ।