संगालोखबर


विराटनगर । स्वास्थ्य र वातावरण जोगाउन तथा स्वदेशी ऊर्जा खपत गर्न विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशालाका सहभागीहरूले यसबारे विस्तृत छलफल गरेका छन् । नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना, नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) लगायत संस्थाको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले विद्युतीय चुलो महत्वपूर्ण हुनेमा जोड दिएका हुन् ।

यस्तो चुलो प्रयोगमा सचेतनामूलक कार्यक्रम गरेर सहयोग समेत गर्ने अभियान चलाइएको छ । यसका लागि सरोकारवाला संस्था, विभिन्न तहका सरकारहरू, सामाजिक संस्था तथा उपभोक्ताबीच समन्वय अझ वृद्धि गरिनुपर्नेमा जोड दिइएको छ । एनसीडीसीका कमल नेपालले विद्युतीय चुलो प्रवर्द्धन र विस्तारका लागि सरोकारवालाबीच छलफल आयोजना गरिएको बताए । सहभागीहरूले विद्युतीय चुलो चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेको अवस्थामा सचेतना बढाउनुपर्नेमा जोड दिए ।

Advertisement

‘प्राक्टिकल एक्सन’ का बासुदेव उपाध्यायले परियोजनासम्बन्धी प्रस्तुति दिँदै नेपालमा ५५ प्रतिशत भन्दा बढी घरधुरी खाना पकाउनका लागि दाउरा, गुइँठा आदि ठोस इन्धनमा निर्भर रहेको उल्लेख गरे ।  यी इन्धनहरू ऊर्जाका स्रोतहरू मध्ये सबैभन्दा कमसल मानिने उनले बताए । त्यस्ता इन्धन बाल्दा धेरै धुवाँ निस्कने भएकाले वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै हानिकारक हुने उपाध्यायले उल्लेख गरे । घरभित्रको धुवाँबाट सिर्जित रोगका कारण प्रत्येक वर्ष लगभग २२ हजार आठ सय ४१ जनाले ज्यान गमाउनु परेको तथ्याङ्क उनले प्रस्तुत गरे ।

धुवाँले गर्दा निमोनिया, दीर्घ खोकी, श्वासप्रश्वास सम्बन्धी समस्या, फोक्सोको क्यान्सर आदि समस्या हुने गरेको छ । संस्थाले २५ हजार घरधुरीका लागि विद्युतीय चुलो सहुलियतमा उपलब्ध गराउने लक्ष्य लिएको जनाइएको छ । यसका लागि विभिन्न सङ्घसंस्था र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने काम भइरहेको जनाइएको छ । कार्यक्रमका क्रममा समूहगत छलफल पनि गरिएको थियो । छलफलमा नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख सरोज कुमार, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव प्रदीप बान्तवा, साना किसान कृषि सहकारी संस्थाकी दीपतारा थाम्सुहाङलगायत सहभागी थिए ।

प्रदेश सरकारले विद्युतीय चुलो प्रयोगलाई प्रवर्द्धन गर्ने खालका कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । आफ्नो वार्षिक र अन्य आवधिक योजनाहरुमा समावेश गरेर यो कार्यक्रमलार्य सहयोग गर्ने ऊर्जा मन्त्रालयका सचिव वान्तवाले बताए । उक्त समूह छलफलमा विद्युत स्थिरता, ग्रिड क्षमता, लोड व्यवस्थापन र आपूर्ति निरन्तरता, विद्युतीय खाना पकाउने प्रवद्र्धन, नवीकरणीय ऊर्जा अनुदान योजना र नीतिगत सुधार र धुवाँरहित खाना पकाउने प्रविधि तथा विद्युतीय चुलोको प्रभावबारे अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा  मनमोहन प्राविधिक विश्वविद्यालयका डिएन फुयाँल, सुनसरीको रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले प्रविधि प्रयोग गरी वातावरण जोगाउनेतर्फ सबै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए । नेपालीको जीवनस्तर सुधार्न विद्युतीय ऊर्जाको प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने सहभागीहरूले बताए । एलपी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने एनसीडीका निर्देशक हिराकाजी घलेले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले स्वदेशी ऊर्जाको बढीभन्दा बढी उपयोग गरेर वातावरणमा क्षति नहुने हिसाबले विद्युतीय चुलो प्रयोग गर्नु राम्रो भएको उल्लेख गरे । यसमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

एनसीडीसीको सहजीकरणमा कोशी प्रदेशका सुनसरी, संखुवासभा, धनकुटा, तेह्रथुम र इलामका विभिन्न पालिकाहरूमा गत साउनदेखि ११ महिनाको लागि विद्युतीय चुलो प्रवद्र्धनको कार्यक्रम लागू भएको छ । यसको कार्यान्वयन स्थानीय सरकार, विद्युत प्राधिकरण तथा अन्य प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरू सँगको सहकार्य, तथा समन्वयमा गरिने गरी परिकल्पना गरिएको संस्थाले जनाएको छ ।

परियोजना अवधिमा ५ वटा जिल्लाका शहर उन्मुख ग्रामीण क्षेत्र तथा ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका बासिन्दा, जसले खाना पकाउनका लागि दाउरा, गोबरका गुइँठा तथा एलपीजी ग्यासको प्रयोग गरिरहेका छन्, उनीहरूका लागि विद्युतीय चुलो र प्रविधि पुर्याउने लक्ष्य लिइएको छ । यो अवधिमा न्यूनतम सात हजार घरधुरीमा खाना पकाउनका लागि विद्युतीय प्रविधिको प्रयोगलाई प्रवर्द्धन तथा विस्तार गर्ने लक्ष्य संस्थाले लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!