धनकुटा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसका कारण देशमा प्रतिगामी तत्वहरु मैलाएको आरोप लगाएका छन् । माओवादी केन्द्र धनकुटा नगरको दोस्रो अधिवेशन तथा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
गणतन्त्र ल्याउन माओवादीले ठूलो भूमिका खेलेको दावी गर्दै उनले अहिले राजावादीहरू सल्बलाउने अवस्था सृजना हुनुमा सत्ताधारी दल दोषी रहेको आरोप लगाए ।
देशमा मौलाएको भ्रष्टाचार न्यूनिकरण गर्न माओवादी सरकारमा हुँदा धेरै काम गरिएको दावी गर्दै उनले अहिलेको सरकारले त्यसो गर्न नसकेको जिकिर गरे ।
माओवादी नेतृत्वको सरकारले राम्रो काम गर्न खोजेको भएपनि सबै कार्यन्वयन गर्न नसकिएको उनको भनाई छ ।
कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रिय सदस्य धनमाया विक, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, जिल्ला अध्यक्ष कुसुम श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
सहिद परिवार, सेवा निवृत्त पार्टी निकट कर्मचारी तथा शिक्षक लगायतलाई कार्यक्रममा सम्मान गरिएको छ ।