
विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका-५ बाट ब्राउन सुगर २ ग्राम ७९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उपमहानगरपालिका-८ का २३ वर्षीय कुबिर राई र २१ वर्षीय समिर राईलाई पक्राउ गरेको हो ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा स्थानीय २४ वर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सूगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
झापाको कनकाई नगरपालिका-४ बाट इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।