विराटनगर । ताप्लेजुङका किसानले सामूहिक मकैखेती सुरु गरेका छन् । कृषक समूह गठन गरेर १२ परिवारले एक सय ४० रोपनी क्षेत्रफलमा मकैखेती गरिरहेका छन् । परम्परागत खेतीलाई विस्थापित गर्दै समूह बनाएर आधुनिक खेतीतर्फ कृषक आकर्षित भएका हुन् ।
प्रत्येक कृषकले आफ्नो इच्छा अनुसार फरक-फरक बाली लगाउँदै आएकामा अब भने सामूहिक तर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् ।
कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो । समूहले सामूहिक खेतीका लागि १६ लाख लगानी गरेको छ । कुल लागतको ५० प्रतिशत किसानले र बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले अनुदान प्रदान गरेको छ ।
रामपुर हाइब्रिड १६ र मनकामना-३ प्रजातिका उन्नत जातका मकै लगाइएको छ । सामूहिक खेतीमार्फत कृषकले प्रविधिको प्रयोग गर्ने ज्ञान र खेती गर्ने प्रविधिबारे जानकारी पाउनेछन् ।