विराटनगर । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउँदा दिनप्रतिदिन वृद्धि हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले बिहीबार पत्रकारहरूलाई यो विषयमा जानकारी गराएको हो ।
संस्थाका पदाधिकारीहरूले वर्षेनी देशभरबाट ३५ हजार क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको बताएका छन् । सम्पर्कमा नआउँदा क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव राजन श्रेष्ठले एक जना क्षयरोगीले १० जनालाई सार्ने सक्ने जोखिम भएकाले सरकारले सहज उपचारको वातावरण बनाउनु पर्ने उल्लेख गरे ।
संस्थाका मोरङ सभापति घनश्याम राठीले नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा रहेको १५ शय्या क्षमताको डि आर होस्टललाई न्यूनतम ५० शय्याको बनाउन सरकारले आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरे । क्षमता कम हुँदा होस्टलमा राखेर उपचार गर्न समस्या भएको उनको भनाइ थियो ।
संस्थाका सचिव भविष श्रेष्ठले मोरङ शाखाले गुणस्तरीय प्रयोगशालाबाट सेवा प्रदान गर्नुका साथै प्रदेशका विभिन्न १७ अस्पताल, स्वास्थ्य केन्द्र र चौकीमा आवश्यक अनुगमन र औषधिको व्यवस्थापन गरिरहेको जानकारी दिए ।
मुलुकमा क्षयरोग न्यूनिकरणका लागि आवश्यक पूर्वाधारको अभावमा वर्षेनी १७ हजार बिरामीहरूको मृत्यु भइरहेको समेत जानकारी गराइएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग निर्मूल गर्ने लक्ष्य लिएको छ ।