सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठलाई अभिनन्दन गरिएको छ । आइतबार छैटौँ धनकुटेली समागमले आयोजना गरेको अभिनन्दन पत्र समर्पण समारोहमा सहिद पत्नी श्रेष्ठलाई अभिनन्दन गरिएको हो ।

सहिद श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवीलाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले दोसल्ला ओढाएका थिए भने धनकुटेली समागमले अभिनन्दन पत्र प्रदान गरेको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले श्रेष्ठको जीवन नेपाली महिलाहरूका लागि प्रेरणादायी रहेको बताउँदै भीमनारायणको अतुलनीय योगदानलाई भुल्न नहुने उल्लेख गरे । यस्तै कार्यक्रममा सहिद परिवारले भीमनारायण नभई समग्र सबै सहिदको सपना पुरा हुनुपर्नेमा जोड दिए ।

सहिद श्रेष्ठका छोरा मनोज नारायण र मनोहर नारायण श्रेष्ठले सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान गठन गरेर केही कामहरू गर्न पाउँदा सहिदहरू प्रति सम्मानको अनुभूति भएको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रको स्थापना र मानवअधिकारको संरक्षणका लागि आफ्नो जीवन समर्पण गरेका थिए । १९९४ साल असार २४ गते धनकुटामा जन्मिएका भीमनारायण श्रेष्ठलाई २०३० चैत्र ३ गते तत्कालीन राजा वीरेन्द्रलाई विराटनगर सवारी हुँदा बम हानेको आरोपमा पक्राउ गरिएको थियो ।

पक्राउ पश्चात सरकारले कठिन जेल यातना दिएर २०३५ साल माघ २६ गोली हानी हत्या गरेको थियो । धनकुटा नगरपालिका-६ सिरान बजार निवासी श्रेष्ठले आफ्नो श्रीमानको बलिदानपछि परिवार र वैयक्तिक सुखसुविधाभन्दा मुलुकको सुनौलो भविष्यका लागि त्याग गरेको भन्दै अभिनन्दन गरिएको छैटौँ धनकुटेली समागमकी संयोजक प्रा. डा. सावित्री कक्षपतिले बताइन् ।

उनले चार सन्तानको पालनपोषणसँगै मौलिक हक र अधिकारको संवैधानिक सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष समेत गरेको कक्षपतिको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!