
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा भइरहेको आन्दोलन संयमता भन्दा बाहिर गएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् ।
संगालोखबरसँगको कुराकानीमा सीडीओ शर्माले आन्दोलन भड्काइएको र अनुशासन भन्दा बाहिर गएको बताएका हुन् । उनले आन्दोलनकर्ताहरूले कानुनलाई हातमा लिन खोजेको उल्लेख गरे ।
‘शनिबार साँझ आन्दोलन कर्ताहरूले राँके जुलुस निकालेर राँको प्रहरी र नागरिकको घरघरमा फ्याँक्ने काम भयो’, उनले भने, ‘प्रहरीले समयमा नै नियन्त्रणमा लिएको थिएन भने ठूलो आगजनी हुने अवस्था आएको थियो ।’
विभिन्न बहानामा विभिन्न प्रलोभन देखाएर बाहिरबाट ल्याएका मान्छेहरूले आन्दोलन भड्काएर कानुन हातमा लिन खोजेको उनको भनाइ छ । सीडीओ शर्माको भनाइ अनुसार आन्दोलनमा स्थानीय भन्दा पनि बाहिरका मान्छे हाबी भएका छन् ।
‘प्रदेशको नामाकरणको विषयलाई लिएर हुँदै आएको पहिचानवादी आन्दोलन रूपान्तरण हुँदै केबलकारसम्म आइपुगेको छ’, उनले भने, ‘हैन भने रकम चेम्जोङ, राजेन्द्र महतोलगायत आउनुपर्ने अवस्था थियो र ?’
सीडीओ शर्माका अनुसार केबलकार बन्नुपर्छ भन्ने पक्षमा स्थानीय एकजुट छन् । उनीहरूले ठूलो सङ्ख्यामा भेला भएर केही दिन अघि सद्भाव र्याली निकालेको उनले उल्लेख गरे ।
‘केबलकार बनाउने र नबनाउने विषय फरक हो’, उनले थपे, ‘बनाउने वा नबनाउने नाममा कसैले पनि कानुनलाई हातमा लिन पाइँदैन, त्यति मात्र हो ।’

संगालोखबर 













