
विराटनगर । इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु भएको छ । शुक्रबार साँझ रोङ गाउँपालिका-३ हाँसपोखरीमा भएको दुर्घटनामा बाबु-छोराको मृत्यु भएको हो ।
मेची राजमार्गमा इलामबाट झापा तर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक सुर्याेदय नगरपालिका-६ खादी गाउँका ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवन राई गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि झापास्थित विएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक माईजोगमाई गाउँपालिका-२ शान्ति चोकका ३० वर्षीय खगेन्द्र थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुस्सु लागेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













