ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउन हुँदैन भनेर विरोध भइरहेका बेला ताप्लेजुङवासी बनाउनुपर्ने पक्षमा उभिएका छन् । जिल्लाको हकहितसँग जोडिएको विषय भएकाले छिटै केबलकार निर्माणको काम सक्नुपर्ने उनीहरूले बताएका हुन् ।
आज सदरमुकाम फुङलिङमा सद्भाव र्याली निकाल्दै जिल्लावासीले एकै स्वरमा केबलकार बनाउनुपर्नेमा जोड दिए । उनीहरूले ‘ताप्लेजुङले के भन्छ, केबलकार ल्याउ भन्छ’, ‘स्थानीय जनता के भन्छन्, केबलकार ल्याउ भन्छन्’, ‘केबलकार चाहिन्छ’ लगायतका नारा लगाउँदै र्याली निकालेका हुन् ।
र्यालीमा सहभागी भएका सयौँ जिल्लावासीले तीर्थयात्री सहजता र जिल्लाको विकासका लागि पनि केबलकार आवश्यक भएकोमा जोड दिए । ताप्लेजुङ विकास प्रेमी नागरिक समाजको आयोजनामा भएको र्यालीले सदरमुकामको विभिन्न स्थान परिक्रमा गरेको थियो ।
बाजागाजा र विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसहित र्याली आयोजना भएको थियो । र्यालीमा स्थानीयसँगै जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।