विराटनगर । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको आगलागीबाट सात करोड बढीको क्षति भएको छ । ग्यास लिक भएर सुरु भएको आगोले भीषण रूप लिँदा सात करोड ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खलेको हो ।
हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारमा पदमशेर राईको पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो । आगलागीबाट उनको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय पनि जलेर नष्ट भयो । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र काठको दुई तले घरमा पूर्ण क्षति भएको छ ।
प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । मानवीय तथा चौपायामा भने क्षति भएको छैन ।