
विराटनगर । इलाम र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर-१७ बाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलका चालक मोरङको बेलबारी नगरपालिका-४ का ३२ वर्षीय विजय राई दुई ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । पथरी शनिश्चरे-१ का ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौसम धिमाललाई एक सय पाँच चक्की ट्रमाडोलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी इलामबाट खटिएको गस्ती टोलीले माई नगरपालिका-७ का ४५ वर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सूगरसहित पक्राउ गरेको छ । उनीहरूका विषयमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।