
विराटनगर । पर्सामा खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ४१ वर्षीय हारून मियाँ अन्सारी पक्राउ परेका हुन् । उनले खसीको भन्दै झुक्याएर बाख्राको मासु बेचिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । लगत्तै खटिएको प्रहरी टोलीले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको फेला परेको थियो ।
प्रहरीले १५ किलो मासु समेत बरामद गरेको छ । उनीमाथि कालोबजारी सम्बन्धी कसुरमा प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













