
विराटनगर । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा-बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । छोरा-बुहारीमाथि चार जना मान्छे खटाएर बाबुको हत्या गरेको आरोप छ ।
माघ २८ गते सुर्याेदय नगरपालिका-११ का ५१ वर्षीय धनराज राई आफ्नै घरको बीच कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको टाउकोको पछाडि र निधारको अगाडिको भागमा गम्भीर चोट लागेको थियो ।
घटनास्थलबाट रड, फरुवासहित दाउराको आग्लो भेटिएको डीएसपी राईले बताए । सुर्याेदय नगरपालिका-११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रीमती २६ वर्षीया मालती तामाङ, सुर्याेदय-११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, सोही ठाउँका २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले पक्राउ गरेको हो । जसमध्ये एडवर्ड र मालती धनराजका छोरा-बुहारी हुन् ।
उनीहरूकै योजना र निर्देशनअनुसार धनराजको हत्या भएको खुलेको डीएसपी राईको भनाइ छ । प्रहरीका अनुसार धनराजसँग विवाद भएपछि छोरा-बुहारी आठ महिना अगाडिदेखि छुट्टै बस्दै आएका थिए ।
पक्राउ परेका अन्य चार जना धनराजको घरमा अम्रिसो किन्न भनेर गएका खुलेको छ । अभियुक्तहरूलाई सुर्योदयन गरपालिका-११ सुन्तलेका विभिन्न स्थानमा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरूका सम्बन्धमा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए ।