
विराटनगर । झापामा घरभित्रै महिलाको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका-११ स्थित घरमा एक्लै बस्दै आएकी ५८ वर्षीया गङ्गामाया लिम्बुको शव घरको भान्सा कोठामा भेटिएको हो ।
उनका श्रीमान धर्मराज सेनेहाङ्ग लिम्बु भारतको सिक्किममा रहेको बुझिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता इन्स्पेक्टर विजय चौहानका अनुसार गएराति महिलाको शव भेटिएको हो ।
भित्रबाट चुकुल लगाएको अवस्थामा महिला मृत भेटिएको खबर थाहा पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली गएको थियो । घटना स्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको इन्स्पेक्टर चौहानले संगालोखबरलाई जानकारी दिए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













