भोजपुर । भोजपुर जिल्लाबाट यो वर्ष चार हजार दुई सय मेट्रिक टन सुन्तला निर्यात भएको छ । सात सय ९० हेक्टर क्षेत्रफलमा उत्पादन भएको सुन्तला निर्यात हुँदा ३५ करोड २८ लाख बराबरको रकम जिल्ला भित्रिएको हो । गत वर्ष २९ करोड बराबरको सुन्तला निर्यात भएको थियो ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार भएपनि सात सय ९० हेक्टर क्षेत्रफलबाट उत्पादन सुरु भएको छ । केन्द्रका प्रमुख मुकेशकुमार यादवका अनुसार आगामी वर्ष उत्पादनसँगै निर्यात पनि बढ्ने अनुमान गरिएको छ ।
केन्द्रले सुन्तलाखेतीमा प्रोत्साहन गर्न किसानलाई आवश्यक सहयोग गर्दै आएको छ । सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै यादवको भनाइ छ ।
भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ भने अन्य क्षेत्रमा पनि सुन्तला खेती हुँदै आएको छ । भोजपुरमा उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।