नम्रता न्यौपाने/संगालोखबर


विराटनगर । आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगर स्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ माथि विमर्श गरिएको हो ।

तीनको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशित उर्वराको केही महिनाअघि काठमाडौंमा विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अग्रज समालोचक भूषण ढुङ्गेलले उर्वरा उपन्यास समसामयिक र यथार्थपरक कथावस्तुमा आधारित भएको उल्लेख गरे ।

Advertisement

ढुङ्गेलले उपन्यासमा ५०-६० वर्षअघि र अहिलेको समयमा घटित घटना र विषयवस्तुलाई समेट्ने काम गरिएको बताए । समीक्षक सुविद गुरागाईंले उर्वरा उपन्यास पठनीय मात्रै नभएर सङ्ग्रहणीय कृतिका रूपमा आएको चर्चा गरे ।

गुरागाईंले यथार्थताको धरातलमा उभिएर उपन्यासकारले उपन्यास लेखेको बताए । कवि सीमा आभासले उपन्यासमा लेखकले धेरै पात्रहरूलाई उभ्याएको बताइन् । भाषिक शुद्धतादेखि पुस्तकको आधार, साजसज्जा सबै उत्कृष्ट रहेको उनको भनाइ थियो ।

कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार भेषराज पोखरेल, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकार दिनेश पौडेल, कवि चूडामणि नेपाल अकिञ्चन लगायतले उर्वरा उपन्यासमाथि आ-आफ्ना दृष्टिकोण राखेका थिए ।

विमर्शमा लेखक पोखरेलले कल्पनामा भन्दा यथार्थमा रहेर उपन्यास लेख्ने गरेको प्रस्ट पारे । उनले उपन्यासका विषयवस्तु र कथासँगै पात्र पनि यही समाजको भएको बताए । पोखरेलले ६० वर्षअघि र अहिलेको समाज र चरित्रलाई उपन्यासमा जोड्ने प्रयास गरेको उल्लेख गरे ।

पोखरेलका नयाँ बाटो २०३० (उपन्यास), सिर्जना २०४० (उपन्यास), प्रतिघात २०७८ (उपन्यास) र बाटो बिराएपछि लेखसंग्रह २०७९ मा प्रकाशित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!