संगालोखबर


विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटरको ट्युमर निकालिएको छ । मोरङकी ३९ वर्षीया महिलाको सफल शल्यक्रिया मार्फत गत असोज २२ गते ट्युमर निकालिएको हो ।

प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वमा शल्यक्रिया भएको थियो । सामान्यतया डिम्बाशयको ट्युमर भन्नाले महिलाहरूमा प्रजनन अङ्गको रूपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रूपमा बढ्दै जानु हो ।

Advertisement

महिलाहरूमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ । डिम्बाशयको ट्युमर प्राय क्यान्सर रहित अवस्था, क्यान्सर हुनसक्ने अवस्था र क्यान्सर भएको अवस्थाका हुने गरेको चिकित्सकको भनाइ छ ।

चार महिना देखि हिँड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाइ भोग्दै आएकी तथा आर्थिक स्थित नाजुक भएकी ती महिला उपचारका लागि विराटनगरसहित देशका अन्य अस्पतालमा पुगेकी थिइन् । तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारण शल्यक्रिया हुन नसकेपछि घोपामा ल्याएको उनका श्रीमानले बताए ।

आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा.डा. अचला ठाकुरको सिफारिसमा प्रतिष्ठानले सबै परिक्षण, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको थियो । जटिल शल्यक्रिया डा. श्रेष्ठ, विभागकी प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोष कुमार झा, डा. रिचा भट्टराईसहितले गरेका थिए ।

शल्यक्रिया पश्चात् महिलालाई बाँकी औषधोपचारका लागि ९ दिनसम्म वार्डमा राखिएको थियो भने कात्तिक १ गते डिस्चार्ज गरिएको थियो । घोपाका सह-प्रवक्ता डा. अभिजित कुमारका अनुसार डिस्चार्ज भएको दुई महिनापछि ति महिला फलोअपमा आइकी थिइन् । अहिले महिला पुरानै अवस्थामा फर्किसकेकी उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!